नेपालमा भुकम्पको जोखिम र भुकम्प आउनु पुर्व गर्नुपर्ने क्रियाकलापहरु
नेपाल भूकम्पको दृष्टीकोणले विश्वमा ११ औं स्थानमा पर्दछ। Indian and Eurasian plate को movement ले गर्दा नेपालमा धेरै जसो भूकम्प जाने गर्दछन्। हामी सबैलाई थाहा भएकै कुरा हो, नेपालमा २०७२ सालमा ७.८ म्याग्निच्युड को भूकम्प जाँदा धेरै धनजनको क्षती भयो तर यसले नेपालको इन्जियरिङ्ग क्षेत्रमा भने धेरै पाठ सिकाएर गयो। वास्तवमा भन्नुपर्दा हाम्रो देशमा Earthquake Resistant Design लाई विशेष ध्यानमा राखेर संरचना बनाउन पनि त्यसपछी नै सुरु गरियो। यसको साथै प्रबलिकरण (Retrofitting) प्रविधि लाई नेपालमा प्रयोग गरी सफलता पनि प्राप्त गारियो। नेपालमा बन्ने संरचनाको भूकम्पप्रतिरोधात्मक डिजाइन का लागि बनाइएको NBC-105 कोड लाई 2020 मा पुन्रमार्जित गरी थप प्रभावकारी बनाइयो। यसरी अगाडि बढीरहदा फेरि लमजुङ भूकम्प, दार्चुला भूकम्प र भर्खरै मात्र गएको जाजरकोट भूकम्पले पनि धेरै धनजनको क्षति भयो। पछिल्लो 518 वर्ष अर्थात वि.स. 1562 सालदेखि नेपालको गोरखादेखि पश्चिममा भारतको देहरादुन सम्मको क्षेत्रमा ठूलो भूकम्प गएका छैनन्। त्यसले गर्दा सुदुरपश्चिम क्षेत्रमा ऊर्जा (Strain Energy) को ठुलो सञ्चिति भएकाले भुकम्पको अति जोखिम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
अहिले सम्मको वैज्ञानिक अनुसन्धान अनुसार भूकम्प आउने समय र यसको केन्द्रबिन्दु (epicenter) भूकम्प आउनु पहिले नै निश्चित गर्न सकिँदैन। भूकम्पबाट सुरक्षित संरचनाहरुको निर्माण गर्नु र यसका लागि पूर्वतयारीको अवस्थामा रहनु नै यसको क्षति बाट बच्ने एक मात्र उत्तम उपाय हो । भूकम्प रोक्न नसकिने प्राकृतिक प्रक्रिया भएतापनि जोखिम न्यूनीकरण तथा पूर्वतयारीका प्रभावकारी उपायहरू अपनाएर यसबाट हुने जन–धनको क्षति धेरै हदसम्म कम गर्न सकिन्छ । नेपालको जनसंख्याको करीब एक तिहाइ जनसंख्या गाउँमा अवस्थित छ र गाउँका ८०-९० प्रतिशत घर सामान्य ढुङ्गा र माटोको जडानबाट निर्मित छन्। भूकम्पबाट जोखिम यस्ता घरहरूमा सानो रेक्टरस्केलको भूकम्पले पनि धेरै क्षति गर्दछ। साथै शहर मा भएका कतिपय घरहरु न्युनतम भूकम्पप्रतिरोधात्मक मापदण्ड अनुसार पनि बनाइएको छैन जसले गर्दा भविष्यमा आउन सक्ने भूकम्पबाट अझै धेरै धनजनको क्षति नहोला भन्न सकिन्न।
नेपालमा भूकम्प आएपछिका उदारका कार्य (Post – Disaster Recovery work) जस्तै घाइतेको उद्दार र उपचार, राहत संकलन तथा वितरण, वस्ती व्यवस्थापन लगायतका कार्यका लागि केही बजेट छुट्टाइ खर्च गरेजस्तो देखाएर सामाजिक सञ्जालमा फोटो राखेर नेताहरुले कति नै धेरै काम गरेउ भने पनि वास्तविकता भने यो भन्दा धेरै नै फरक छ। मुख्य कुरा चाहि, नेपालमा भूकम्प आउनु अगाडी नै गर्नुपर्ने गतिविधि (Pre-Disaster Work) मा त्यति जोड दिइएको देखिदैन। विपद आइपरेपछि मात्र त्यसलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्नु भन्दा पनि विपद नआउदै कसरी जोखिम न्युनिकरण (Risk minimization) गर्न सकिन्छ भन्ने कुरालाई गम्भीर रुपमा लिनु आवश्यक छ। कुनै पनि विपद् आउनु पुर्व र आएपश्चात हुने प्रक्रियाहरु तलको चित्रमा देखाइएको छ।
भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उपायहरु
(क) भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण (Construction of Earthquake Resistant Structure)
भूकम्प आफैले कसैलाई मार्दैन तर मानिसले बनाएका कमजोर घर, भवन, पुल बाँध जस्ता भौतिक संरचनाहरू भूकम्पको बेला भत्किंदा जन धनको भारी क्षति हुने गर्दछ । विगतका भूँइचालाहरूले भत्काएका र बचेका संरचनाहरूको विस्तृत अध्ययन तथा विश्लेषणका आधारमा भूकम्प प्रतिरोधी निर्माण प्रविधिको विकास भएको छ । उक्त प्रविधिको प्रयोग गरेर बनाइएका घरहरू भूकम्पको बेला सुरक्षित रहन्छन् र जनधनको क्षति नगन्य हुन्छ । प्रचलित निर्माणको तुलनामा कुल लागतको ५-७ % बढी लगानी गरेर साविककै निर्माण सामग्रीहरूबाटै शहर बजार वा गाउँघरतिर बन्ने सबै खाले घरहरुलाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ ।
(ख) भूकम्पीय प्रबलीकरण (Retrofitting)
पहिल्यै बनिसकेका पुराना वा नयाँ घरहरू कमजोर छन् भने तिनलाई विशेष प्रकारको मर्मत संभार गरेर संभावित भूकम्पबाट सुरक्षित पार्ने कामलाई भूकम्पीय प्रबलीकरण भनिन्छ । भूकम्प थेग्ने नयाँ घर बनाउँदा लाग्ने खर्चको अधिकतम 30 प्रतिशत लगानी गरेर सम्भब छ भने बनिसकेका पुराना वा नयाँ कमजोर घरहरूलाइ भूकम्प प्रतिरोधी पार्न सकिन्छ । थोरै लगानीमा पुराना वा नयाँ कमजोर घरहरूमा भूकम्पबाट हुन सक्ने ठूलो जन धनको क्षति जोगाउन भूकम्पीय प्रबलीकरण उपयुक्त विकल्प हो । विशेषतः विद्यालय, स्वास्थ्य केन्द्र आदि सार्वजनिक प्रयोग हुने भवनहरु प्रवलिकरणको पहिलो प्राथमिकतामा पर्नु स्वभाविक हो ।
(ग) गैरसंरचनात्मक जोखिम अल्पीकरण (Mitigation of Non-structural risk)
हामीले घर, अफिसमा बरोबर प्रयोग गर्ने यक, दराज, शोकेस, टेलिभिजन, पंखा हिटर जस्ता फर्निचर तथा उपकरणहरु भूकम्पको बेला ढल्दा खस्दा पनि जन धनको क्षति हुने गर्छ । भवनको बलियो वा कमजोरपनामा प्रत्यक्षतः सामेल नहुने यी गैर-संरचनात्मक अंगहरु पनि बलियो हुनु आवश्यक छ । विनासकारी भूकम्पहरुमा परी चोटपटक लागेको तथा मृत्यु हुनेहरुमध्ये करिब आधा जति गैर-संरचनात्मक जोखिमका कारण हुने गर्दछ । त्यसैले हामीले आफ्नो घर, कार्यालय तथा विद्यालयमा प्रयोग गर्ने फर्निचर, उपकरणहरु लगायत सजावटका सरसमानहरु सुरक्षित तवरले बाँधेर, अड्काएर, अड्याएर नढल्ने, नखस्ने गरी राख्नुपर्छ ।
नेपालमा भविष्यमा आउन सक्ने भूकम्पबाट बच्नका लागि विपद्पुर्व गर्नुपर्ने कार्यहरु:
- भूकम्पलाई अलग दैवी घटनाको रुपमा नलिइकन एक प्राकृतिक प्रक्रियाको रुपमा वैकल्पिक सोच राख्नुपर्ने
- देशभित्र रहेका सार्वजानिक तथा निजी संरचनाहरुको विधमान खतरा, जोखिम (Risk) र संकटाभिमुखता (vulnerability) हरुको लेखाजोखा (Visual Assessment) गरेर विभिन्न समुह (For example: Red Zone, Yellow Zone, Green Zone) मा विभाजन गरी शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पुर्वाधार विभाग, केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा उक्त संरचनाहरुको पुन्रस्थापना, पुन्रनिर्माण र प्रवलीकरणमा जोड दिने (सुरुमा Red Zone मा परेका संरचनालाई प्राथमिकता दिने र त्यसमा पनि विशेषगरी सार्वजानिक कार्यका लागि प्रयोग हुने संरचनालाई) ।
- ग्रामीण क्षेत्रमा अबको दिनमा बन्ने संरचनालाई भूकम्प प्रतिरोधात्मक बनाउनको लागि शहरको जस्तै गरी गाउँपालिकाबाट पनि प्रत्येक संरचनाको निर्माणको स्वीकृती नलिइकन कार्य गर्न नदिने।
- गैरसंरचनात्मक जोखिम न्युनीकरण गर्नको लागि Non-structural elements (जस्तै – फर्निचर, उपकरण, सजावटका सामानहरु आदि ।) लाई बाध्ने (दराज, Racks आदि), स्थान्तरण गर्ने (भवनको माथिल्लो तलाहरुबाट गर्ह्रौ सामान भुइतलामा लग्ने), हटाउने (पोखिन सक्ने खतराजन्य पदार्थहरु, रासायनिक पदार्थहरु), टेवा दिने (सिलिङको बतीहरुलाई थप support दिने), विस्थापन गर्ने (गर्ह्रौ छाना, Masonry Gable etc. replacement), परिवर्तन गर्ने (झ्यालको ऐनाको भित्री भागलाई छेक्नलाई प्लाष्टिक ल्यामिनेशन गर्ने), संरचनासँग सुरक्षित तवरले जोड्ने (पानी ट्याङ्की), Clips and Hooks को प्रयोग गरी बाध्ने आदि।
- भूकम्पका कारण सम्भावित पहिरो जाने, बाढी आउने, रुख, विजुलीका खम्बा, टावर आदि ढल्न सक्ने जस्ता जोखिमयुक्त ठाउँहरुको पहिचान गरी जोखिम न्युनीकरणका कार्य अगाडी बढाउने।
- नेपालमा रहेको वन सम्बन्धी ऐन, नियमलाई परिमार्जन गरी आफ्नो देशको स्रोत, साधनको प्रयोग गर्दै काठ (Timber) लाई मुख्य निर्माण सामग्रीको रुपमा प्रयोगमा ल्याउने, जसले गर्दा संरचनाको Self-Weight (Dead Load) घट्दछ र संरचना पनि भूकम्प प्रतिरोधात्मक हुनेगर्दछ।
- सार्वजानिक भवनहरु जहा पब्लिकको बढी ओहोरदोहोर हुने गर्दछ, त्यहा संकटकालीन योजना (Emergency Plan) को नक्सा तयार गरी भवनको ठाउ-ठाउमा प्रष्टसँग देखिने गरी टाँस्नुपर्दछ। विशेषगरी उक्त योजनामा प्रयोग गरिने बाटोहरु (Exit way in Emergency Period) छोटो र सुरक्षित हुनुपर्ने कुरालाई प्राथमिकता दिनुपर्दछ।
- भुकम्प आउनुपुर्व र भुकम्प आइसकेपछि गर्नै पर्ने र गर्नै नहुने कार्यहरु सम्पुर्णमा जानकारी गराउने।
- भुकम्पीय पुर्वअभ्यास (Drill) गर्ने गराउने, “घुँडा टेकी गुँडुल्की ओत लागी समात” (Drop, cover and Hold on) गर्न सिकाउने
- भुकम्पबाट सुरक्षित रहनको लागि केन्द्रीय स्तरमा, जिल्लास्तरमा र स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुका साथै तालिमहरु दिने । विशेष प्राथमिकताका साथ गाँउघरमा निर्माणसम्बन्धी कार्य गर्ने गराउने डकर्मी र सिकर्मीलाई निर्माण गर्ने तरिका सम्बन्धी तालिम दिने।
Author: Er. Sumit Paudel, Earthquake Engineering Student, Thapathali Campus